नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा विकसित राइड–सेयरिङ एप ‘ल बसम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त एप ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने नारासहित ल्याइएको हो ।
कम्पनीका अनुसार नेपालकै भूगोल, यातायात अवस्था र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा डिजाइन गरिएको छ । सञ्चालकहरूले विदेशी राइड–सेयरिङ एपको विकल्पका रूपमा ‘ल बसम’ आएको र यसले देशभित्रै आर्थिक मूल्य सिर्जना गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
सुरुवाती चरणमा काठमाडौं उपत्यकामा सेवा सुरु गरिएको एप छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवनमा विस्तार गर्ने योजना छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा सञ्चालन गर्ने तयारी पनि कम्पनीले जनाएको छ ।
एपमा महिला सुरक्षालाई लक्षित ‘पिंक मोड’, दुर्घटना बीमा, पारदर्शी भाडा प्रणाली र डिजिटल कुपनसहित गिभअवेजस्ता सुविधा समावेश गरिएको छ । चालक र यात्रुलाई साझेदार तथा ‘परिवार’को रूपमा लिने अवधारणा अघि सारिएको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि चालक प्रमाणीकरण, रियल–टाइम ट्र्याकिङ र एसओएस बटनको व्यवस्था गरिएको छ भने प्रारम्भिक चरणमा चालकबाट कुनै सेवा शुल्क नलिने नीति पनि लागू गरिएको छ ।